हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
जनकपुरले जित्यो एनपीएलकाे उपाधि, कसले के अवार्ड पाए ?
काठमाडाैं । सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो। प्रारम्भिक ब्याटर लाहिरु मिलन्थाले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरले एनपीएलको पहिलो उपाधि सजिलै जितेको छ।
सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर जित हासिल गरेको हो। जनकपुरका लागि मिलन्थाले ८७ रन बनाए। उनले ४९ बलमा नौ चौका र चार छक्का प्रहार गरे।
त्यस्तै, आसिफ शेखले ३३ र हर्ष थाकरले २९ रन बनाए। सुदूरपश्चिमका लागि स्कट कुगेलिन, दीपेन्द्रसिंह ऐरी, सैफ जैब र इशान पाण्डेले एक-एक विकेट लिए। अन्य बलर महँगा सावित भए।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। पहिलो विकेटका लागि सैफ जैब र विनोद भण्डारीले ११७ रनको साझेदारी गरेका थिए। त्यसपछि भने लगातार विकेट झर्दै गयो।
सुदूरपश्चिमका लागि प्रारम्भिक ब्याटर सैफ जैबले ४३ बलमा आठ चौका र दुई छक्काको मद्दतले ६९ रन बनाए। त्यस्तै, विनोद भण्डारीले ४१, ब्रान्डन म्याकमुलन र हरमित सिंहले १४-१४ रन तथा स्कट कुगेलिनले १३ रन बनाए। अन्य खेलाडी ठूलो शट प्रहार गर्ने प्रयासमा एकपछि अर्को गर्दै आउट भए।
जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन-तीन तथा जेम्स नशिम र ललित राजवंशीले एक-एक विकेट लिए।
एनपीएल ट्रफीसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ। त्यस्तै, उपविजेता सुदूरपश्चिमले ५० लाख रुपैयाँ पुरस्कार पाएको छ। तेस्रो स्थानमा रहेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानमा रहेको चितवन राइनोजले १५ लाख रुपैयाँ पुरस्कार पाएको छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी बनेका छन्। उनले नौ खेलमा २२७ रन बनाएका थिए भने नौ विकेट पनि लिएका थिए। उनले कार पुरस्कार पाए।
जनकपुरका लाहिरु मिलन्था उत्कृष्ट ब्याटर बने। उनले १० खेलमा २९३ रन बनाए। फाइनलमा ८७ रन प्रहार गरेका थिए।
यस्तै, सुदूरपश्चिमका स्कट कुगेलिन र जनकपुरका ललित राजवंशी सर्वाधिक विकेट लिने खेलाडी बने। दुवैले १७-१७ विकेट लिएका थिए।