स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि ३७६ उम्मेदवार चुनाव लड्दै

काठमाडौँ । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीअनुसार ४१ पदमा ३७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्षको रिक्त ४४ पदका लागि सो उपनिर्वाचन हुन लागेको हो ।

त्यसक्रममा मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गराउने क्रममा ४१० जनाले उम्मेदवारी दर्ता गराएको थियो । त्यसमा राजनीतिक दलबाट २८९ र स्वतन्त्रबाट १२१ जना गरेर ४१० जनाको उम्मेदवारी दर्ता भएको थियो ।

३१ जनाले उम्मेदवारी फिर्ता लिए भने तीनजना निर्विरोध निर्वाचित, भएका छन् । अब ४१ पदका लागि ३७६ जनाबीच प्रतिस्पर्धा हुन लागिएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

जिल्ला समन्वय समिति ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मदेवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

आयोगका अनुसार निर्विरोध निर्वाचित भएका ३ स्थानबाहेक ४१ स्थानमा विभिन्न पदमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरेर ३७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न पनि प्रदान गरेको छ ।

स्थानीय तहको उपनिर्वाचनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाली कांग्रेस (बीपी), नेपाली जनता दल र आम जनता पार्टीसहित ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता गरेनन् ।

निर्वाचन कार्यक्रमअनुसार मंसिर ६ अर्थात् बिहीबारदेखि मंसिर १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् । मंसिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ ।

निर्वाचन आयोगबबाट निर्वाचन आचारसंहिता मंसिर २ गतेदेखि जारी भइसकेकाले उक्त आचारसंहितको अक्षरशः पालना गरी निर्वाचन प्रचारप्रसारको कार्य गर्न गराउन सम्बन्धित सबै राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन सरोकारवालालाई आयोगले अनुरोध गरेको छ । साथै आयोगले मंसिर १६ गते सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मतधिकार प्रयोग गर्न पनि सबैलाई आग्रह गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *