नेपाल कारखाना श्रमिक सङ्घ राष्ट्रिय समितिको महिला अध्यक्षमा द्रौपती राय

नवलपुर । नेपाल कारखाना श्रमिक सङ्घ राष्टिय समितिको महिला केन्द्रीय अध्यक्षमा द्रौपती राय चयन हुनु भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुलीमा शनिवार सम्पन्न नेपाल ट्रेड युनियन काँग्रेस सँग आबद्ध रहेको नेपाल कारखाना श्रमिक सङ्घको प्रथम राष्ट्रिय महिला सम्मेलनले मोरङकी द्रौपती रायको नेतृत्वमा सर्वसम्मत ११ सदस्य कार्यसमिति चयन गरिएको हो ।

सङ्घको उपाध्यक्षमा लीला कुमारी सिंह(रुपन्देही), सचिव कल्पना खड्का(पर्सा), सह–सचिव सरिता घिमिरे(चितवन) र कोषाध्यक्षमा रिता थापा क्षेत्री(नवलपुर) चयन हुनु भएको नेपाल कारखाना श्रमिक सङ्घको केन्द्रिय उपाध्यक्ष एवं नेपाल ट्रेड युनियन केन्द्रीय सदस्य सविता रेग्मीले जानकारी दिनु भयो । त्यसै गरी सङ्घको सदस्यहरूमा सुनिता बजगाईँ(काभ्रे), उषा रावल क्षेत्री(बाँके), सरिता रानी थारु(बर्दिया), किरण राणा(ललितपुर), बिनु हमाल(चितवन) र सविना चौधरी(सुनसरी) रहनु भएको छ ।

सम्मेलनबाट नेपाल कारखाना श्रमिक सङ्घ लैङ्गिक नीति समेत पारित गरिएको रेग्मीले बताउनु भयो । “महिलाहरूको अधिकार र सम्मानको संरक्षण गर्दै, उनीहरूको योगदानलाई मान्यता दिने र कार्यस्थलमा सुरक्षित वातावरण सिर्जना गर्ने उद्देश्यले यो लैङ्गिक नीति तयार गरिएको हो”,उहाँले भन्नु भयो ।

ट्रेड युनियनले उद्योग तथा कलकारखानामा लैङ्गिक समानता र महिला सशक्तीकरणको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने नवनिर्वाचित अध्यक्ष द्रौपती रायले बताउनु भयो ।

नेपाल कारखाना श्रमिक सङ्घको प्रथम राष्ट्रिय महिला सम्मेलन सम्मेलन संयोजक एवं नेपाल ट्रेड युनियन केन्द्रीय सदस्य सविता रेग्मीको अध्यक्षतामा भएको सम्मेलनमा गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जि.सीको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथी जी.सिले श्रमिक महिलाहरूको आत्मसम्मान र पहिचानसहितको श्रम अधिकारको नीतिगत र कार्यान्वयन रूपमा संस्थागत गर्नका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य ओमकला गौतम, नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति उपाध्यक्ष राधिका कुइँकेल, नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति उपाध्यक्ष ललिता श्रेष्ठ, नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति सचिव सुशीला घिमिरे, नेपाल ट्रेड युनियन केन्द्रीय सदस्य सिता ढकाल, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, नेपाल कारखाना श्रमिकका अध्यक्ष अमृतलाल जोशी, नेपाल ट्रेड युनियन काँग्रेस महिला समिति संयोजक प्रमीला ढुङ्गाना लम्साल, नेपाल ट्रेड युनियन नेपाली काँग्रेस नवलपुरका अध्यक्ष गंगाधर सुवेदी, नेपाल ट्रेड युनियन नेपाली काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, नेपाली काँग्रेस देवचुली नगर समितिका सभापति डिल्लीराम कडरिया लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै देशको बदलिँदो सामाजिक र राजनीति परिस्थितिमा घरभित्र मात्रै नभई घरबाहिर पनि महिलालाई सम्मान तवरले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका थिए ।

सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश समिति, जिल्ला समिति, नेपाल कारखाना श्रमिक संघ केन्द्रिय समिति, प्रदेश समिति र जिल्ला समितिका पदाधिकारी र विभिन्न जिल्लाका समिति सदस्यहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *