मनसुनी विपद्‌मा एक सय ४३ जनाको मृत्यु, ४७ बेपत्ता, सरकार रमिते

काठमाडाैं । मनसुनी विपद्‌मा परी सोमबारसम्म देशका विभिन्न स्थानमा १४३ जनाको मृत्यु भएको छ भने ४७ जना हराइरहेका छन्।

यस वर्षको मनसुन गत जेठ २८ गते नेपाल प्रवेश गरेको थियो। त्यसयता बाढीपहिरो लगायत विपद्‌मा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ।

अहिलेसम्म काठमाडौं उपत्यकामा नौ, कोशी प्रदेशमा ३५, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा नौ, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी १६१ जना घाइते भएका छन्।

त्यस्तै, काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ७१ जनाको उद्धार गरिएको छ।

बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक गरी ४७ जना हराइरहेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए। उनीहरूको खोजीकार्य जारी छ।

यसैगरी, बाढीका कारण १८४ घर डुबानमा परेका छन्। त्यस्तै, २४१ घर, ८८ गोठ, ४३ पुल, दुई विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीको तथ्यांक छ।

विपद्‌मा परी ६०८ पशु चौपाया मरेका छन्। यस अवधिमा विपद्का घटनाबाट चार हजार ४२ घरपरिवार विस्थापन भएको प्रहरीले जनाएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *