पोखरामा पहिरोमा पुरिएर एकै परिवारका सात सहित ११ को मृत्यु

कास्की । गए रातिदेखिको लगातारको वर्षाका कारण आएको पहिरोमा पुरिएर पोखरामा एकै परिवारका सात सहित ११ जनाको मृत्यु भएको छ।

पहिरोमा पुरिएर पोखरा महानगरपालिका-१९, तल्लोकोटमा एकै परिवारका सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। त्यस्तै, पोखरा-३२, चैनपुरमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको छ।

बिहीबार राति सवा १० बजे तल्लोकोटमा पहिरोमा एकतले ब्लकको गारो र टिनको छाना भएको घर पुरिएको हो। घर पुरिंदा ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, आमा ८५ वर्षीया लक्षिमा, छोरी १५ वर्षीया प्रशना र २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त राधिका परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले बताए।

प्रभा चितवनबाट माइती घर आएकी थिइन्। प्रभासँग भेटघाट गर्न छिमेकी राधिका पनि आएकी थिइन्।

त्यस्तै, चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिंदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदा नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *