प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबीच तर्कवितर्क

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच सरकारमा सहभागी ठुलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिनुपर्ने वा संविधानको व्यवस्थाअअनुसार तीस दिनभित्र विश्वासको मत लिनुपर्ने भन्नेमा तर्कवितर्क भएको छ ।

बैठकमा विपक्षी बेञ्चमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरुले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् भने सत्तापक्षीय दल नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) का सांसदले संवैधानिक प्रक्रियाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने दोहो¥याएका छन् ।

यही असार १७ गते नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले वर्तमान सरकारले दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न नहुनेमा दुवै दलका सांसदले जोड दिएका छन् ।

नेकपा (एमाले)का योगेशकुमार भट्टराईले जनताका समस्या समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यको समझदारी भएको बताउनुभयो । “ देशमा लगानीको वतावरण बनाउन, बिग्रदै गएको अर्थतन्त्रलाई सुधार्न, युवावर्गका बाह्यमुलुकतर्फको गमन रोक्न र संविधान पुनरावलोकन गर्न दुई दलले सहकार्यको निर्णय गरेका हुन्”, उहाँले भन्नुभयो ।

कांग्रेसका सांसद डिगबहादुर लिम्बूले राजनीतिक क्षेत्रमा नयाँ परिस्थिति निर्माण भएको उल्लेख गर्दै अब बन्ने सरकारले जनचाहनाअनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले नयाँ सत्ता समीकरणले मुलुकमा स्थायित्व कायम गर्न नसक्ने दाबी गर्नुभयो । “दुई दलबीचमा के कस्ता सम्झौता भए, त्यो सार्वजनिक भएको छैन”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि संसद्मा प्रस्ताव दर्ता गराइसक्नुभएको छ । संवैधानिक प्रक्रियामा गएकालाई कसैले पनि रोक्नु हुँदैन ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सिङ्गो मुलुक विपद्मा परेका बेला जिम्मेवार भनिएका राजनीतिक दलहरु आफ्ना स्वार्थमा अल्झेका आरोप लगाउनुृभयो । “विपद्का बेला सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा दुई ठूला दल सरकार परिवर्तनमा लाग्नु विडम्बना हो ”, सांसद पराजुलीले भन्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले मुलुकका हितका लागि संशोधन गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एकीकृत समावादी)का सांसद शेरबहादुर कुँवरले प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत सामग्री वितरणमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले पहाड पहिरो र तराई÷मधेस बाढीबाट प्रभावित भएका उल्लेख गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले मनसुनजन्य विपद्का घटनाका घाइतेको निःशुल्क उपचार हुनुपर्ने माग गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्षाका कारण काठमाडाँै उपत्यकासहित मुलुकभरका विभिन्न क्षेत्र प्रभावित भएका उल्लेख गर्दै पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भारतको मेघालयस्थित कोइलाखानीमा मारिएका चार नेपालीको बारेमा तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभयो ।

सांसद सुनिल शर्माले देशमा लगानीको वातावरण बनाएकामा सरकारलाई धन्यवाद दिनुभयो । सांसद पूर्णबहादुर तामाङले संसद्का दुई ठूला राजनीतिक दलले सहकार्यका निम्ति गरेको सहमतिको स्वागत गर्दै मुलुकलाई समृद्ध बनाउने योजना बनाएर त्यसमा लाग्न दुवै दललाई सुझाव दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *