विधानमा प्राप्त सुझावले पार्टी निर्माणमा सहयोग पुग्छ : अध्यक्ष दाहाल

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशन सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गरेपछि उहाँले प्राप्त सुझावका आधारमा विधानलाई ओजपूर्ण बनाइने बताउनुभयो ।

अध्यक्ष दाहालले आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने र समितिबाट प्रत्यक्ष निर्वाचनको गरेर पदाधिकारी चयन गर्ने निष्कर्षमा पुगेको बताउनुभयो । आमरुपमा पार्टी समिति सानो बनाउनुपर्ने सबैको सुझाव आएको उल्लेख गर्दै उहाँले आगामी अधिवेशनबाट एक सय ९९ सदस्यीय केन्द्रीय समिति बनाइने निष्कर्ष सुनाउनुभयो ।

आगामी अधिवेशनपछि ११ जनाको केन्द्रीय कार्यालय बनाउने र त्यसैलाई प्रभावकारी बनाइने उहाँले जानकारी दिनुभयो । योग्यता र कार्यअवधिको व्यवस्था नियमावलीमा गर्न उचित हुने उल्लेख गर्दै अध्यक्ष दाहालले प्रत्येक दुई वर्षमा सदस्यता नवीकरण गरिने बताउनुभयो ।

प्रदेशलाई बलियो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्नेगरी विधान बनाइने बताउँदै अध्यक्ष दाहालले त्यसैले सङ्घीयता र समानुपातिक व्यवस्थालाई प्रभावकारी बनाइने जानकारी दिनुभयो । नाम र चुनाव चिह्नका विषयमा कुनै खास समयमा निर्णय गरिने उल्लेख गर्दै अध्यक्ष उहाँले धेरै कम्युनिष्ट पार्टीबीच एकता हुने अवस्थामा नाम फेर्न सकिने तर अहिले यथावत राख्ने बताउनुभयो ।

अध्यक्ष दाहालले पार्टीका विभिन्न मोर्चालाई वैचारिक तालिमसहित स्वायतता दिने र जनवर्गीय सङ्गठनलाई पनि विस्तार गरिने बताउनुभयो । उहाँले स्थायी समितिको बैठकबाट कार्यविभाज गरेर जानकारी दिइने बताउनुभयो ।

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान परिमार्जनसहित पारित भएको छ । प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो ।

अधिवेशनमा अध्यक्ष दाहालले विधानलाई समृद्ध बनाउन महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । विधान अधिवेशनलगत्तै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी उहाँले दिनुभयो । उहाँले प्राप्त सुझावबाट पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताउनुभयो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौदामा २० समूहबाट सुझाव सङ्कलन गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *