हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
गुल्मीमा फस्टाइरहेकाे बाख्रापालन व्यवसाय
गुल्मी । गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन् । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि यहाँका किसान बाख्रापालनलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका हुन् । अन्य व्यवसायको तुलनामा बाख्राबाट छोटो समयमै प्रशस्त आम्दानी लिन पाइने र भनेको बेलामा सजिलैसँग बिक्री गर्न सकिने भएका कारण किसानको रुचि बाख्रापालनमा बढेको हो ।
यस जिल्लाका किसान खसी, बोका बिक्रीबाट वार्षिक दुई अर्ब ५५ करोडभन्दा बढी आम्दानी गर्ने गर्दछन् । यहाँको खसी, बोका बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको छ । जिल्लाका प्रत्येक पालिकाहरुबाट वार्षिकरुपमा ४६ हजार खसी, बोका जिल्लाबाहिर निर्यात हुँदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गुल्मीका पशु विकास अधिकृत हुमाकान्त पाण्डेयले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाबाहिर निर्यात भएका खसी, बोकाबाट वार्षिक रु ९८ करोड जिल्ला भित्रने गरेको बताइएको छ ।
जिल्लाको रुरुक्षेत्र, सत्यवती, मदाने र धुर्कोट गाउँपालिकामा सबैभन्दा बढी बाख्रापालन गरिँदै आएको छ । यस क्षेत्रमा उत्पादन भएका पाँच हजार जति बोका बीउका लागि बाहिर निर्यात हुँदै आएको छ । जिल्लामा वार्षिकरुपमा एक लाख २० हजार खसी, बोका बिक्री हुँदै आएको कार्यालयले जनाएको छ । उक्त खसी, बोकाबाट जिल्लामा वार्षिक रु एक हजार एक सय ६३ मेट्रिकटन मासु उत्पादन हुने गर्दछ ।
जिल्लामा जमुनापारि क्रस र बोयर क्रस जातका बाख्राहरु उत्पादन गरिँदै आएको छ । गत आर्थिक वर्षमा कार्यालयमा दर्ता भएका चार सय १६ बाख्रा फार्मबाट रु दुई लाख पाँच हजार सात सय ७७ बाख्रा उत्पादन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गुल्मीले बाख्रापालनका लागि किसान र तिनका समूहलाई खोर निर्माण, बीउ, औषधि उपचार, खोप, मेसेनरी सामग्री खरिदलगायत क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएकोे पशु सेवाविज्ञ केन्द्र प्रमुख पाण्डेयले बताउनुभयो ।
जिल्लामा किसानले बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आए पनि पछिल्लो समयमा भने व्यावसायिक किसानको सङ्ख्या भने घट्दै जान थालेको छ । युवा जनशक्ति बाहिर पलायन हुँदै जाने, अनुदान पाउने आशमा मात्र व्यवसाय सञ्चालन गर्ने, घाँसको अभाव हुने र काम गर्ने जनशक्ति पर्याप्त नभेटिने समस्याका कारण किसानले सोचेजस्तो प्रतिफल पाउन नसकेको बताइएको छ ।