संस्कृति संरक्षणमा तनहुँका मगर समुदाय

दमौली । तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर निवासी नन्दु थापा महिलाको भेषमा सजिएर नृत्य गर्दै हुनुहुन्छ । प्रायः महिलाले लगाउने पोसाक लगाएर उहाँ मगर समुदायको कार्यक्रममा नृत्य गर्दै गरेको अवस्थामा भेटिनुहुन्छ ।

मगर सुधार समितिमा आबद्ध नन्दु पाउदुरे नृत्यका लागि महिलाको भेषमा सजिनुभएको हो । पुरुष महिला बनेर नाच्ने पाउदुरे मगर समुदायको प्रख्यात नाच हो  तर हिजोआज यो नाच लोप हुन थालेकाले संरक्षण गर्नुपर्ने आवश्यकता खड्किएको  छ । “लोप हुन लागेको नाच संरक्षण गर्नुपर्छ भनेर आफूहरु लागिपरेका हौँ,” उहाँले भन्नुभयो, “पहिला गाउँघरमा पाउदुरे नाच नाचिन्थ्यो तर अहिले त्यस्तो छैन । यो नाच लोप हुँदै गएको महसुस भएको छ । युवा पुस्ताको यसमा आकर्षण नहुँदा वृद्ध भएका मगर समुदायका व्यक्तिहरुले यसलाई संरक्षण गर्नुपरेको छ ।”

यस नाचका लागि युवाको आकर्षण नभएको मगर सुधार समितिका उपाध्यक्ष इन्द्रबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “संस्कृति लोप हुन दिनहुन्न भनेर समितिमा आबद्ध व्यक्तिहरुको सहभागितामा हरेक कार्यक्रममा यो नाच देखाउँदै आएका छौँ । यसले संस्कृति संरक्षणमा सहयोग पुगेको विश्वास गरेका छौँ ।” विभिन्न जातजातिले फरक तरिकाले नाच्ने यो नाचमा बिजबारे, मारुनी, मादलेलगायत पर्छ । यो नाच पुरुषले गुन्युचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने प्रचलन छ । छेउमा नाच्ने दुई पुरुषलाई मारुनी र बीचमा नाच्नेलाई बिजबारे भन्ने गरिएको मगर समुदायका अगुवाले बताए ।

पाउदुरे नाच्दा बिजबारेकै भावलाई समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्छ । गीत गाउने मुख्य व्यक्तिलाई गुरुबा भन्ने गरिन्छ । गुरुबाले गीत गाउने र लहरै बसेका तीन मादलेलगायतले पनि गीतलाई हो मा हो मिलाउने प्रचलन रहेको अगुवा यामबहादुर आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो संस्कृति संरक्षणका लागि आफैँ जागरुक हुने हो । मगर समुदाय त्यही अभियानमा सक्रिय छन् ।”

अगुवा आलेका अनुसार पहिला पहिला सबै गीत मगर भाषामा गाउने गरिए पनि आजभोलि त्यस्तो प्रचलन हट्दै गएको छ । नेपाल मगर सङ्घले आफूले गर्ने कार्यक्रमहरुमा संस्कृति संरक्षणलाई प्राथमिकतामा दिने गरेको छ । मगर सङ्घ व्यास नगर समितिका सचिव अमरबहादुर थापाले मौलिकता उजागर गर्दै संस्कृति संरक्षणका लागि प्रयास गरिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हरेक कार्यक्रममा मगर समुदायको प्रचलनमा रहेका पाउदुरे, झ्याउरे, कौरा नृत्यलाई प्राथमिकतामा दिन्छौँ । यसले कला संस्कृतिको संरक्षणमा टेवा मिल्छ ।”

मगर विद्यार्थी सङ्घकी बिनिता आलेमगरले कौरा नृत्य संरक्षणका लागि आफूहरु लागेको बताउनुभयो । तनहुँको कौरा नृत्य देशभर प्रख्यात रहेकाले सङ्घमा आबद्ध छात्राहरुले यसलाई संरक्षण गर्दै आएको उहाँको भनाइ थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *