काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
कोशीमा केदार कार्की मुख्यमन्त्री नियुक्त
बिराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेकपा (एमाले)को समर्थमा कांग्रेसका कार्की मुख्यमन्त्री बनेका हुन्।
यस उपधारामा प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। यसअघि अल्पमतको सरकारको नेतृत्व गरेका नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि उपधारा ५ अनुसार, सरकार गठनको प्रक्रिया थालिएको थियो।
यसअघि मुख्यमन्त्रीमा कार्कीसँगै नेकपा (माओवादी केन्द्र)का सांसद इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका थिए। दुवै जनाले ४७-४७ सांसदको हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख खापुङले आज बिहान सांसदलाई सनाखतका लागि बोलाएका थिए।
कांग्रेसले सत्तारुढ गठबन्धनमा रहेको माओवादीका सांसद आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सहमति गरेको थियो। त्यसमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लगायत सात दल सहमति जनाएका थिए।
तर, कांग्रेस नेता डा. शेखर कोइराला समूहले यसमा असहमति जनाएको थियो। डा. कोइराला समूहका आठ जना सांसदले एमाले एमालेसँग सहमति गरेका थिए। उनीहरूले एमाले सांसदको हस्ताक्षरमा कार्कीलाई अघि सारेका थिए।
आज सनाखत गर्दा पनि कार्कीको पक्षमा कांग्रेसको विद्रोही समूहका आठ र एमालेका ३९ गरी ४७ सांसद पुगेका हुन्। कार्कीको पक्षमा बहुमत पुगेपछि मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुख खापुङले जनाएका छन्।
९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्। बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।