कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त 

काठमाडाैं । कोशी प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारी पेस गरेका नेपाली कांग्रेसका उद्धव थापालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका छन्।

गठबन्धनले प्रस्तुत गरेको ४७ जना सांसदहरूको हस्ताक्षरका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले उनलाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्तिमार्फत् जनाएको छ।

मुख्यमन्त्री बन्नका लागि थापाको मात्र दाबेदारी परेको थियो।

एक महिनाअघि मुख्यमन्त्री बनेका उनको नियुक्तिलाई गत बिहीवार सर्वोच्च अदालतले ‘नेपालको संविधानबमोजिम प्रतिकूल देखिएको’ भन्दै बदर गर्ने आदेश दिएपछि नयाँ प्रक्रियाबाट उनी दोस्रोपटक मुख्यमन्त्री बनेका हुन्।

उक्त आदेशमा यसअघि मुख्यमन्त्री बन्ने क्रममा प्रदेश सभाका सभामुखलाई समेत गणना गरिएकोमा सर्वोच्च अदालतले प्रश्न उठाएपछि मङ्गलवार भने सभामुखलाई राजीनामा दिन लगाएर नियुक्ति हुनका लागि आवश्यक हस्ताक्षर पुर्‍याइएको थियो।

मङ्गलवार थापाले दाबी पेस गर्नुभन्दा केहीअघि मात्र कोशी प्रदेश सभाका सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम अब माओवादी केन्द्रका तर्फबाट प्रदेश सभा सदस्यका हैसियतमा पुगेका हुन्।

कुल ९३ सदस्यीय कोशी प्रदेश सभामा कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा (एकीकृत समाजवादी)को चार र जनता समाजवादी पार्टी नेपालको एक सीट जोडेर बहुमतका लागि आवश्यक ४७ मत पुर्‍याइएको छ।

अर्कोतर्फ प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका छ सांसद छन्। दुवैको कुल मत ४६ छ।

सभामुखको राजीनामापछि एमालेकी सांसद तथा उपसभामुख सृजना दनुवारले सभाको अध्यक्षता गर्ने हुनाले उनले कुनै पक्षधरता देखाउन नपाउने व्यवस्था छ।

जससँगै यसअघि एमाले-राप्रपाको कुल ४६ मतमा अब १ घटेर ४५ पुगेको छ।

कोशी प्रदेश सरकारमा कुनै पनि एक दलको बहुमत नरहेकाले नेपालको संविधानको धारा १६८ (२) बमोजिम ‘प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्य मुख्यमन्त्रीमा नियुक्त’ हुने व्यवस्था अन्तर्गत थापा मुख्यमन्त्री बनेका हुन्।

अहिलेसम्म के-के भयो?

  • साउन १२ः कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रदेशको मुख्यमन्त्रीका लागि मङ्गलवार साउन १६ गते अपराह्न ५ बजे भित्र दाबी पेस गर्न आह्वान
  • साउन ११ः सर्वोच्च अदालतद्वारा कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति ‘नेपालको संविधानबमोजिम प्रतिकूल देखिएको’ ठहर, सात दिनभित्र प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश
  • साउन ८ : सर्वोच्च अदालतद्वारा कोशी सरकारको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश
  • असार २७: कोशी सरकालाई दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न सर्वोच्च अदालतको आदेश
  • असार २२: कांग्रेस नेतृत्वको कोशी सरकारविरुद्ध एमालेद्वारा सर्वोच्च अदालतमा रिट निवेदन
  • असार २२: सभामुख समेतको समर्थनमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन
  • असार १५: नेकपा एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारले बहुमत गुमायो
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *