सुन तस्करीमा माओवादी नेताको नाम जोडिएपछि प्रचण्डले के भने

काठमाडाैं । बहुचर्चित सुन तस्करी प्रकरणमा माओवादी नेताहरू पनि संलग्न रहेको चर्चाको विषयले नेकपा माओवादी केन्द्रको बैठकमा प्रवेश पाएको छ।

पार्टी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक बोलाइएको थियो।

तर सुन तस्करी प्रकरणमा गिरफ्तार एक व्यक्तिसँग आफ्नो नाम जोडेर समाचार र सामाजिक सञ्जालमा प्रचार भएको भन्दै नेता वर्षमान पुनले आफ्नो प्रतिरक्षा गर्दै त्यसबारे कुरा उठाएका हुन्।

पक्राउ परेका व्यक्ति र भूतपूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको फोटो पनि सार्वजनिक भएको छ।

त्यस्तै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको नाम पनि अर्को एउटा सुन तस्करी प्रकरणमा जोडेर समाचारहरू आइरहेका छन्।

पदाधिकारी बैठकमा उठेको प्रसङ्ग सुनाउँदै महासचिव देव गुरुङले भने, “सरकारको अभियानप्रति सबैको समर्थन र ऐक्यबद्धता छ, यसलाई अझ प्रभावकारी र सशक्त बनाउनुपर्छ, विज्ञहरू लगाएर न्यायिक ढङ्गले छानबिन गर्ने र दोषी देखिए जोसुकैले कारबाही भोग्न तयार हुनुपर्छ भन्नेमा सबैको धारणा छ।”

‘पार्टीकै नेता परे पनि नछाड्ने’

नेताहरूका अनुसार फरक सन्दर्भका पुराना तस्बिरहरू राखेर बदनाम गराउन खोजिएको भन्दै नेता वर्षमान पुनले असन्तुष्टि प्रकट गरेका थिए।

त्यसैले सबै विषयमा छानबिन गरिनुपर्ने उनको माग थियो।

कतिपयले विभिन्न उद्देश्य राखेर फोटो खिच्ने गरेको बताउँदै प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले “आवश्यकता बुझेर त्यसबारे ख्याल गर्न” ध्यानाकर्षण गराएको नेता हरिबोल गजुरेलले जानकारी दिए।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले भने, “तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ। प्रमाणले देखाएमा पार्टीकै भए पनि कसैलाई छाडिँदैन भन्ने प्रधानमन्त्रीको भनाइ थियो।”

महासचिव गुरुङका अनुसार प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्ष प्रतिबद्धता व्यक्त गरे।

“सरकार सुशासनको अभियानमा लागेको छ। चाहे मानव तस्करी होस्, चाहे जग्गा प्रकरण होस्, चाहे सुन तस्करीको प्रश्न होस्, सरकार निरन्तर अघि बढिरहन्छ भन्ने उहाँको प्रतिबद्धता दह्रै थियो।”

प्रधानमन्त्रीको सङ्केत र गृहमन्त्रीको अनुपस्थिति

एक नेताका अनुसार प्रधानमन्त्रीले बहुचर्चित तीन प्रकरणबाहेक अन्य मुद्दा पनि बाहिर आउन सक्ने बताएका छन्।

माओवादी नेता गणेश शाहका बुझाइमा प्रधानमन्त्रीले सरकारको ध्यान भूमाफिया, भ्रष्टाचार र तस्करीविरुद्ध केन्द्रित गर्न खोजेका छन्।

“सुशासनको निम्ति उहाँले यी तीनवटा कुरालाई समाउन खोजेको देखिन्छ। मलाई त सरकारी र सार्वजनिक जग्गा अपचलनका धेरै घटनाहरू छन् कि जस्तो लाग्छ,” उनले भने।

तर पार्टीको पदाधिकारी बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अनुपस्थित थिए।

अस्वस्थताका कारण उनी बैठकमा सहभागी नभएको बताइए पनि अनुसन्धान चलिरहेको फौजदारी कसुरमा पार्टीकै नेताको नाम जोडिएका बेला उनको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेर्नेहरू पनि छन्।

उनले पनि प्रमाण भेटिए जोसुकैलाई कारबाही गर्ने बताउँदै आएका छन्।

प्रधानमन्त्री प्रचण्डका निम्ति यी प्रकरणहरू विपक्षी दल, सत्ता सहयात्री र आफ्नै पार्टीभित्रका सम्भावित असन्तुष्ट स्वरलाई दबावमा राख्ने अस्त्र बनेको कतिपयको विश्लेषण पाइन्छ।

तर नेता देव गुरुङ भन्छन्, “यो राज्यको शुद्धीकरणको अभियान हो। यो पार्टी, त्यो पार्टी, सत्तापक्ष वा विपक्ष जो-जो परे पनि निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गर्दै अगाडि लग्ने कुरा हो।”

के भेटिएला राजनीतिक सम्बन्ध?

असार ३० गते शनिवार विमानस्थलस्थित भन्सार गोदाममा पुगेको सुन साउन २ गते भन्सार पास भएर निस्किएपछि बरामद गरिएको थियो।

विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार त्यस प्रकरणमा हालसम्म १८ जना गिरफ्तार भएका छन्।

पक्राउ पर्नेमा नेपाली र विदेशी नागरिक पनि छन्।

उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतबाट १५ दिनको म्याद थप गरेको बताइएको छ।

उनीहरूले प्रयोग गर्ने विद्युतीय सामग्रीको परीक्षण गर्न प्रयोगशाला पठाइएको छ।

उनीहरूको मोबाइलको कल डिटेल नेपाल टेलिकमसँग माग गरिएको बताइएको छ। त्यसबाट उनीहरूको सम्पर्क कुन तहका व्यक्तिहरूसँग थियो भन्ने खुल्ने अपेक्षा अधिकारीहरूले गरेको पाइन्छ।

यति ठूलो सुन तस्करी राजनीतिक संरक्षणबिना सम्भव नहुने कुरा धेरैले व्यक्त गर्दै आएका छन्। तर उनीहरूमा अनुसन्धान राजनीतिक तहसम्म पुग्ला भन्नेमा ठूलो अविश्वास देखिन्छ। बीबीसी नेपाली

फेयर नेपाल यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *