नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति

नयाँदिल्ली । नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधान र एनपिसिआई प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षर गर्नुभएको छ । एनपिसिआई भारतको केन्द्रीय बैंकले स्थापना गरेको संस्था हो ।

उक्त सहमतिपछि भारतमा अध्ययन तथा उपचारका लागि आउनेलाई सहज हुनेछ । सम्झौताले सहज कारोबार तथा भुक्तानीका लागि मार्गप्रशस्त गरिदिएको छ । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत प्रधानले महत्वपूर्ण सहमति भएकोे राससलाई जानकारी दिनुभयो ।

उहाँले यसप्रकारको सम्झौताले विद्युतीय भुक्तानीका लागि सहज हुने बताउनुभयो । नेपाल र भारतका नागरिकले यसबाट ठूलो लाभ प्राप्त लिन सक्ने उहाँको भनाइ छ । यसअघि कार्डबाट हुँदै आएको भुक्तानी अब भने क्यूआर कोड स्यानमार्फत हुनेछ ।

भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकको भुक्तानी सेवाजस्तै भारत पे, गुगल पे, पेटीएम आदिबाट नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्टमार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ।

भारतमा विभिन्न प्रयोजनका लागि आउने नेपालीले भोग्दै आएको भुक्तानीको समस्या अब भने समाधान हुने प्रमुख कार्यकारी अधिकृत प्रधानले जानकारी दिनुभयो । नेपाल राष्ट्र बैंककोे लगानीमा स्थापित नेपाल क्लियरिङ हाउस र भारतीय समकक्षीबीचको सहमतिले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई थप भरपर्दो र विश्वासिलो बनाएको छ ।

बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।

हालसम्म ३३ बढी देशमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) लागू भइसकेको छ। यूपीआई भारतमा सन् २०१६ मा लागू भएको हो। अहिले यूएईलेसमेत यूपीआई लागू गरिसकेको छ।

यूपीआई अर्थात् युनिफाइड पेमेन्ट्स इन्टरफेसलाई नेशनल पेमेन्ट्स कर्पोरेसन इन्डिया (एनपीसीआई)ले विकास गरेको तत्काल भुक्तानी गर्न मिल्ने प्रणाली हो। भारतमा एनपीसीआईले भिसा र मास्टर्ड कार्ड जस्तै रुपे कार्डको विकास गरिसकेको छ।

नेपाल र भारतमा खुल्ला सीमा भएकाले भारतीय र नेपालीको आवतजावत बाक्लै हुने गरेको छ। भारतीय नागरिक नेपाल घुम्न आउने र नेपालीहरु पनि भारत घुम्दा पैसा सटही गर्नुपर्ने बाध्यता छ।

नेपाल भित्रिने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्। हाल पाँच सयमाथिका नोट नेपालमा नचल्ने हुँदा भारतीयलाई अप्ठ्यारो हुँदै आएको छ।

भारतमा थुप्रै नेपाली रोजगारीका लागि जाने गरेका छन्। उनीहरुले अहिले थोरै पैसा पठाउँदा आफन्त र छिमेकीको सहयोग लिनुपर्ने बाध्यता छ। यूपीआईले यसको समस्या समाधान गर्नेछ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *