सरकारको नीति तथा कार्यक्रममा के छ ? (पूर्ण पाठसहित)

काठमाडाैं । आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम आज सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आकर्षक नारासहितका केही नयाँ योजना तथा कार्यक्रम राखिएका छन् ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी क्रमशः आत्मनिर्भरता हासिल गर्ने योजना सरकारको छ । त्यस्तै, एकीकृत राष्ट्रिय अनुदानसम्बन्धी कानून एवं कृषि अनुसन्धान नीति तर्जुमा गर्ने नीति सरकारले लिएको छ । कृषि उत्पादन बढाउनका लागि सरकारले ‘एक टोल एक सामूहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र’ नारा दिएर नयाँ नीतिमार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गर्ने उल्लेख गरेको छ । प्रदेश र स्थानीय तहको सहकार्यमा प्रत्येक पालिकामा शीतगृह, कृषि भण्डारण र वितरण केन्द्र स्थापना गर्ने सरकारको नीति छ ।

स्वदेशी वस्तु उत्पादन, प्रयोग तथा प्रवर्द्धनका लागि सरकारले ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ नारासहित अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यो कार्यक्रमअन्तर्गत स्वदेशी उत्पादनलाई प्रवर्द्धन र उपयोग गरिने जनाइएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा राखेको ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ कार्यक्रमलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् निरन्तरता दिएको छ । “आत्मनिर्भर हुनसक्ने वस्तु तथा सेवा उत्पादन गर्ने सम्भावित उद्योग पहिचान गरी त्यस्ता उद्योगको विकास र स्थायित्वका लागि नीतिगत प्रबन्ध गरिनेछ । बीस प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्ने प्रबन्ध मिलाइनेछ”, वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, “स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धिका लागि ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग पु¥याइनेछ । यी अभियानअन्तर्गत हिमालको पानी प्रशोधनसहितको व्यावसायिक उत्पादन र तिलगङ्गा आँखा अस्पतालबाट उत्पादित लेन्सलाई विश्वबजारमा ब्राण्डिङ गरिनेछ ।”

धार्मिक तथा सांस्कृतिक स्थललाई सुन्दर र आकर्षक बनाउन ‘हाम्रो सम्पदा, राम्रो सम्पदा’ कार्यक्रम सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘सामुदायिक वन, फलाउनेछ धन’ अभियानअन्तर्गत यसै वर्षदेखि सामुदायिक वनक्षेत्रमा निश्चित मापदण्ड र अनुगमन प्रणालीसहितको कार्यविधि अपनाई परीक्षणका रूपमा हरिण, मृग, बँदेल, कालिजजस्ता वन्यजन्तु र पन्छीको नियन्त्रित व्यावसायिक पालन सुरु गरिने कार्यक्रममा जनाइएको छ ।

त्यस्तै, भूमिगत र सतह स्रोतको संरक्षण गर्दै ‘एक घर, एक धारा’ कार्यक्रमको निरन्तरतासहित जलवायु अनुकूलन खानेपानी प्रणालीको विकास गरिने सरकारको नीति छ ।

‘एक पालिका, एक हुलाक’ को अवधारणा कार्यान्वयन गर्ने विषय पनि वार्षिक नीति तथा कार्यक्रममा राखिएको छ । हाल सञ्चालनमा रहेका हुलाक बचत बैङ्कलाई सरकारी स्वामित्वको वाणिज्य बैङ्कमा गाभ्ने नीति लिइने जनाएको छ ।

शिक्षा क्षेत्रतर्फ ‘ल्याउने, सिकाउने र टिकाउने’ अभियान सञ्चालन गर्ने सरकारको योजना छ । जसअन्तर्गत विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा प्रोत्साहनमूलक कार्यक्रमसहित अभियानका रूपमा यो कार्यक्रम  सञ्चालन गरिनेछ । पढ्दै कमाउँदै कार्यक्रमलाई ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’ कार्यक्रमका रूपमा सञ्चालन गरिने पनि वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी, ‘हाम्रो स्कुल, बनाऔँ राम्रो स्कुल’ अभियानअन्तर्गत सामुदायिक विद्यालयमा स्थानीय तहबाट विषयगत दक्ष शिक्षक दरबन्दीको व्यवस्था मिलाइने जनाइएको छ ।

हेर्नुहोस् सरकारको नीति तथा कार्यक्रम

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *