हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
पार्टी जोगाउन र आन्दोलन जिताउन सुदृढीकरण अभियान ः वरिष्ठ नेता नेपाल
काठमाडाैं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सङ्गठन, विचार, सिद्धान्त र नीतिलाई जोगाउनका लागि आफू निरन्तर लागिरहेको बताउनुभएको छ । नेपाल पक्षका एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आज बनेपामा आयोजना गरेको पार्टीको विस्तारित बैठकमा उहाँले पार्टी नेतृत्व नीति, सिद्धान्त र विचारबाट नभई व्यक्तिगत ढङ्गले चलेको आरोप लगाउनुभयो ।
अहिले पनि पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानका लागि नै आफूले निरन्तर सङ्घर्ष गरिरहेको र पार्टीका नेता तथा कार्यकर्तालाई आदर्श, सिद्धान्त, नीतिका पक्षमा लाग्नका लागि आग्रह गरिरहेको उहाँले बताउनुभयो । “कम्युनिष्ट पार्टीमा विचार र नीति प्रधान हुन्छ, व्यक्ति प्रधान होइन”, उहाँले भन्नुभयो, “जब पार्टीमा व्यक्ति प्रधान हुन्छ अनि समाप्त हुन्छ ।”
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं वाग्मती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्वले सिद्धान्तबिनाको कम्युनिष्ट पार्टी चलाउन खोजिरहेको आरोप लगाउँदै लोकतन्त्र, गणतन्त्रलाई धरापमा पारेर अगाडि बढ्न खोजिरहेको बताउनुभयो । उहाँले जिम्मेवारी बाँडफाँट, जिल्ला कमिटीको घोषणा, पालिकासम्मको कमिटी घोषणा भएकालाई स्वागतयोग्य कदम भएको उल्लेख गर्दै सबै तहका नेता कार्यकर्तालाई जवाफदेही र जिम्मेवारीका साथ आफ्नो क्षमताअनुसार लाग्न निर्देशन दिनुभयो ।
कार्यक्रममा एमालेका नेता कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा, लक्ष्मण लम्साल र वसुन्धरा हुमागाईंले पार्टीलाई सुदृढीकरणको अभियानमा सबै तह र तप्कालाई विचार, नीति, सिद्धान्तमा प्रतिबद्धताका साथ लाग्न आग्रह गर्नुभयो । सो क्रममा एमाले काभ्रेपलाञ्चोकले टोकबहादुर वाइबाको अध्यक्षमा वसुन्धरा हुमागाई उपाध्यक्ष, दिपक गौतम सचिवलगायत २०१ जनाको जिल्ला कमिटी पुनःगठन गर्नुका साथै जिल्लाका सबै पालिकामा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवसम्मको नेतृत्व चयन गर्नुका साथै जनवर्गीय सङ्गठन र मोर्चासमेत गठन गरी अगाडि बढेको घोषणा गरिएको छ ।