लकडाउनलाई सफल बनाउन जनप्रतिनिधि, प्रहरी र प्रशासन एकसाथ

बिराटनगर । लकडाउनलाई सफल बनाउन र कोरोना भाइरसको सङ्क्रण फैलिन नदिन जनप्रतिनिधि, प्रहरी र प्रशासन एकसाथ अघि बढिरहेको छ । लकडाउनको आज पाँचौँ दिनसम्म मोरङमा ९० प्रतिशत सफल रहेको पाइएको छ । खासगरी बेलुका मानिस घरबाट बाहिर आउने, समूह बनाएर गफ गर्ने बानीले समस्या देखिएको मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

उहाँले मानिसले खाद्य पदार्थ, औषधि खरिद गर्नेजस्ता विभिन्न बहानामा लक डाउन उल्लङ्घन खोजेको पाइयो, हामी त्यसलाई पहिचान गरेर सहजीकरण खोजी रहेकोछु भन्नुभयो । खासगरी सागसब्जी किन्न जम्मा हुने मानिसले आपसी दूरी कायम नगर्ने बानीले गर्दा रोगको सङ्क्रमण हुन सक्ने उनीहरुमा चेतना पनि दिइरहेको बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विभिन्न आयोजनामा काम गर्ने मजदुरको समस्या आइरहेको जानकारी दिँदै सवारी पास माग्ने मानिसले हैरान पारिरहेको जानकारी दिनुभयो । मानिसलाई आवश्यक पर्ने खाद्यसामग्री उलब्ध गराउन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयसँग समन्वय गरेर अघि बढ्ने भन्दै उहाँले लकडाउनमा आमनागरिक सचेत र सजग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोरोना भाइरस जस्तो महामारीलाई फैलिन नदिन नगरपालिकाले नगर क्षेत्रमा हरसम्भव प्रयास गरिरहेको छ, गुद्रीमा साँझ र बिहान तरकारी खरिद गर्न आउने मानिसको भीड दखिन थालेपछि गुद्रीबाट रिक्सा डुलाएर तरकारी बिक्री गर्ने वातावरण आजदेखि बनाएको जानकारी दिनुभयो ।

सधैँ गुद्रीबाट बिक्री हुने तरकारी अब भीड कम गर्न विभिन्न चोकबाट रिक्सामार्फत उपलब्ध गराउने व्यवस्था मिलाउन गुद्री बजार व्यवस्थापनसँग सल्लाह भएको प्रमुख पराजुलीले बताउनुभयो ।

रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले कोरोना भाइरसको महामारी फैलिन नदिन नगर क्षेत्रमा घरदैलो कार्यक्रम शुरु गरेको छु र यसबाट आमनागरिकमा चेतना बढेको बताउनुभयो । उहाँले यस नगर क्षेत्रमा रहेको नाका आमगाछी, धनपति, चपराबारीमा हेल्प डेस्क राखेको जानकारी दिँदै नगर क्षेत्रमा किटाणु शोधन औषधिको अभावमा सो कार्य गर्न नसकेको जानकारी दिनुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले हामीमा अहिले तत्काल कुनै सामानको अभाव नदेखिए पनि नेपाल आयातमुखी भएको र आयात हुने देश भारतमा पनि लक डाउन शुरु रहेकाले भविष्यमा ग्यास अभाव हुन सक्ने बताउनुभयो ।

उहाँले गुद्रीबाट बिक्री हुने खाद्यान्न अभाव हुन नदिन खाद्यसंस्थानसँग पनि समन्वय गरिरहेको र खाद्य सामग्री अभाव हुने अवस्थामा त्यहाँबाट उलब्धता गराउने कुरामा जोड दिनुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव खड्गले मोरङको पाँच वटा स्थानीय तह केराबारी, सुन्दर हरैचा, कटहरी, बेलबारी र बुढीगङ्गामा गरी १२८ जना हालसालै विदेशबाट आएकाको पहिचान भइसकेको जानकारी दिनुभयो ।

विदेशबाट आउनेमा भारतबाट आउनेको सङ्ख्या १०१, जापान र अफगानिस्तानबाट एक एकजना, अस्ट्रेलियाबाट दुईजना र बाँकी कुबेत, साउदी अरब तथा अन्य खाडी मुलुकका रहेको सहायक प्रमुख जिल्ला अधिकारी खड्गले बताउनुभयो । उहाँले मोरङको अन्य स्थानीय तहमा आएका विदेशीको खोजी र पहिचानको काम भइरहेको जानकारी पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *