ढुङ्गा र माटो अभावले महाकाली पुल निर्माण प्रभावित

शेरबहादुर सिंह
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको अन्य संरचना निर्माण माटो र ढुङ्गा अभावका कारण प्रभावित हुँदै गएको छ । पुलसँगै बन्ने दुवैतर्फको पोखरीको बाँध निर्माणका लागि करिब छ लाख घनमिटर माटो आवश्यक पर्ने भए पनि ठेक्कामै माटोको विषय समावेश नहुँदा बाँध निर्माणमा ढिलाइ भइरहेको छ । सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा हेरिएको पुलको पारी र वारी दुवैतर्फ पाँच हजार २०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा रहेको छ ।

“पारी र वारी गरी दुवैतर्फ दुई हजार ६००÷दुई हजार १०० लम्बाइ भएको बाँध निर्माण गर्नुपर्ने ठेक्कामा उल्लेख छ ।” पुल निर्माण गरिरहेको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सर्टक्सन कम्पनी (सिएफासी) को जोइन्ट भेञ्चरका इञ्जिनीयर किशोरराज पाण्डेयले भन्नुभयो, “माटोका लागि भरिएसनका लागि प्रक्रिया थालेको महिनौँ बितिसक्दा पनि त्यो पूरा नहुँदा बाँधको काम शुरुआत नै गर्न सकिएको छैन ।”

पुलको दुवैतर्फ १.२ वर्गकिलोमिटर क्षेत्रफलका दुई वटा पोखरीसमेत निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । बाँधका लागि करिब एक लाख ५० हजार ठूला ढुङ्गाको पनि आवश्यकता रहे पनि ढुङ्गाको प्रबन्ध अझै मिल्न सकेको छैन । डेढ लाखमध्ये बाँध निर्माणका लागि २६० किलोभन्दा माथिको करिब ७० प्रतिशत ढुङ्गा आवश्यक पर्ने देखिएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिकाको उत्तर चुरेको फेदबाट बग्ने खबरे खोलामा पुलका लागि आवश्यक ढुङ्गा भए पनि स्थानीय तहले दिन आनाकानी गरिरहेको महाकाली पुल योजना कार्यालयको भनाइ छ । “ढुङ्गाको समस्याले काममा केही असहजता आउने अवस्था सिर्जना भएको छ ।” महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर ध्रुवकुमार झाले भन्नुभयो, “ढुङ्गा दिन्छौँ भनेर जनप्रतिनिधिसहितको उपस्थितिमा स्थानीय तहले दिने निर्णय गरे पनि अझै उपलब्ध गराउने सुरसार छैन ।”

उहाँले डेढ महिनाअघि यहाँका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र नगर प्रमुखसहितका जनप्रतिनिधिलाई ढुङ्गाको विषयमा छलफल गरेर नै सहजीकरण गर्ने निर्णयमा पुगेको बताउनुभयो । “यो यहाँको ठूलो र महत्वपूर्ण विकास निर्माणको योजना हो ।” इञ्जिनियर झाले भन्नुभयो, “यसमा अवरोध गर्नु यहाँकै लागि क्षति हुन जान्छ ।”

उहाँले स्थानीय सरकार पनि पुल निर्माणको काममा सहयोगी बन्नुपर्नेमा जोड दिनुभयो । “खहरे खोलाको बिच भागबाट ढुङ्गा निकाल्दा त्यस्तो फरक पनि केही पर्दैन ।” उहाँले भन्नुभयो, “पुलको अरु निर्माण सन्तोषजनक रुपमा अघि बढिरहेको छ ।” उहाँले पुल निर्माणको ४५ प्रतिशत काम सकिएको बताउनुभयो ।

“पुल आवागमनका लागि मात्रै नभएर पर्यटकीय हिसाबले पनि एउटा महत्वपूर्ण गन्तव्य बन्दैछ ।” उहाँले भन्नुभयो । त्यसैगरी बाँधका लागि आवश्यक पर्ने माटोका लागि विभागमा भेरिएसनका लागि फाइल पेश गरिएको इञ्जिनियर झाले बताउनुभयो ।

“अबको दश÷पन्ध्र दिनमै भेरिएसन स्वीकृत भएर आउँछ ।” उहाँले भन्नुभयो, “अहिले माटोभन्दा पनि ढुङ्गा नपाउँदा काम प्रभावित हुने अवस्था आउन लागेको छ ।” पुलसँगै ७.८ किलोमिटर लम्बाइको छ लेनको पहुँच मार्ग दु्रत गतिमा निर्माण भइरहेको पुल योजना कार्यालयको भनाइ छ ।

“पुलका लागि ढुङ्गा निकाल्ने हो त वातावरण मिलिरहेको छैन ।” कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सर्टक्सन कम्पनी (सिएफासी) को जोइन्ट भेञ्चरका इञ्जिनीयर पाण्डेयले भन्नुभयो, “ढुङ्गा र माटोकै कारण पुल निर्माणको अवधि लम्बिने अवस्था आउनसक्छ ।” रु तीन अर्ब २७ करोड लागत रहेको पुलको निर्माण ०७८ जेठ भित्र सक्नुपर्ने समय तोकिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *