पर्सा झडप अपडेट : परिवारले बुझेनन् चौरसियाको शव

पर्सा । पर्साको विन्दवासीनी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई गुटबीच भएको झडपको विषयलाई लिएर बीरगञ्जमा प्रदर्शन चर्किएको छ ।

घटनाका दोषीलाई कारवाही माग गर्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । बिहीबार भएको झडपमा नेकपाका गाउँ कमिटि सचिव मुकेश चौरसियाको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो । वीरगंजको पानीट्याङकीस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

ज्यान गुमाएका मुकेश चौरसियाका आफन्त तथा नेकपाका एक समूहले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन् । नव गठित कमिटीका पदाधिकारीहरुकोे बिहीबार शपथ ग्रहण कार्यक्रममा पार्टीकै असन्तुष्ट पक्षले विवाद गर्न खोजेपछि झडप भएको थियो ।

दुई गुटमा भएको हिंस्रक झडपमा परी ८ जना घाइते भएका थिए । झडपमा नेकपाका कार्यकर्ताहरु चिन्टु तिवारी, उत्तम तिवारीसहित चार जना घाइते भएका छन् । घटनामा संलग्न मुख्य योजनाकार संविधान सभा सदस्य एवं नेकपा नेता राजकुमार गुप्ता सहित १२ जना विरुद्ध पीडित पक्षले दिएको किटानी जाहेरी दर्ता गर्न नमानेपछि मृतकका आफन्त र पार्टीका नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका हुन् ।

मुद्दा दर्ता नभएसम्म चौरसियाको शव नबुझ्ने पीडित परिवारको अडान छ । गुप्तासहित १२ जनामाथि ज्यान मार्ने मुद्दा दर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

झडपमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार बेलुकी पूर्वसांसद एंव नेकपाका नेता राजकुमार गुप्तासहित ७ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको थियो । तर तीमध्ये गुप्तासहित ४ जनालाई भने प्रहरीले बिहीबार राति नै छाडिदिएको थियो । अन्य ३ जना हनिफ मिया, देवा सहनी र शोक्दीन गद्धीलाई भने प्रहरी हिरासतमै राखिएको छ ।

घटनामा संलग्न आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *