मुस्लिम धर्मावलम्बीले मनाए बकर इद

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद देशभर मुस्लिम समूदायले हर्षोल्लासपूर्वक मनाएका छन् ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

तर यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेपछि मस्जिदहरु सुनसान देखिएका छन् ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाइने गरिन्छ ।

यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *