कोरोनाबाट नेपालमा एकैदिन ३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

आइतबार र सोमबार गरी तीन जना नयाँ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणले तीनजनाको मृत्युको पुष्टि भएको जानकारी दिनुभयो । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार बिहान एक जना संक्रमित वृद्धको मृत्यु भएको छ ।

बाराको फेटा गाउँपालिका–३ निवासी ६० वर्षीय वृद्धको सङ्क्रमणले मृत्यु भएको उहाँले बताउनुभयो । धनुषा र पर्साको बिरगञ्ज गरी दुईजनाको पछिल्लो चौबीस घण्टामा मृत्यु भएको छ । धनुषाको शहीदनगर नगरपालिका–८ डुमरियाका ३६ वर्षीय युवाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । बिरगञ्ज महानगरपालिका वडा नं १० का ६५ वर्षीय एक वृद्धको आइतबार बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३९ नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल क्वारेन्टिनमा रहेका कोरोना आशंकितको संख्या १६ हजार ३७९ जना रहेको जानकारी दिनुभयो ।

त्यसैगरी, आइसोलेशनमा करिब पाँच हजार जना बिरामी छन् । पछिल्लो चौबीस घण्टामा ६२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार हालसम्म १३ हजार ७५४ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *