सरिता गिरी पार्टीबाट निष्कासित, लीला सिटौला स्वतः सांसद

काठमाडौँ । समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । योसँगै गिरी सांसद पदबाट समेत पदमुक्त हुनु भएको छ । पार्टी महासचिव रामसहायप्रसाद यादव नेतृत्वको छानबिन समितिले दिएको सिफारिसका आधारमा पार्टी पदाधिकारी बैठकले गिरीलाई कारबाही गरेको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको अद्यावधिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराउनु भएको थियो । पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि गिरीले पालना नगरेको आरोप छ ।

गिरीले आफूलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने पार्टी निर्णयविरुद्ध अदालत जाने बताउनु भएको छ । आफूलाई षडयन्त्र गरेर पदबाट हटाएको गिरीको आरोप छ । अनुशासनको कारवाही गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै रहेकाले पदाधिकारी बैठकले उठाएको कदम अवैधानिक भएको भन्दै उहाँले अदालत जाने चुनौती दिनु भएको हो ।

गिरीलाई कारबाही गरिएसँगै उहाँको ठाउँमा ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बनाउने चर्चा चलेको छ । सिरहा निवासी सरिता गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बन्नु भएको छ ।

पार्टीको कारबाहीपछि अब गिरीको सांसद पद समाप्तिसँगै बन्दसूचीमा उहाँभन्दा मुनि रहनु भएकी लीला सिटौला स्वतः सांसद बन्न पाउने बताइएको छ ।०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *