लिम्पियाधुराको कुरा उठ्दा अतिक्रमित सुस्ताको विषय उठाउन माग

काठमाडौँ । सरकारले हालै सार्वजनिक गरेको नेपालको नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ । नवलपरासी ‘बर्दघाट–सुस्ता पश्चिम’सुस्ता गाउँपालिका–५ सुस्ताको १४ हजार ५०० हेक्टर भारतले अतिक्रमित गरिसकेकाले नयाँ नक्सामा सुस्ताको क्षेत्रफल स्पष्टरूपमा उल्लेख गर्न माग गरिएको हो ।

सुस्तासहित भारतले अतिक्रमण गरेका भू–भागमा सीमाङ्कन गरी जंगे पिलर गाड्नुपर्ने सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताउनु भएको छ । करिब १९ हजार ४८० हेक्टर जमिन विवादित भन्दै भारतले सुस्तावासीलाई उपयोग गर्न नदिएको अभियानका अध्यक्ष गुरुङले उल्लेख गर्नु भयो । बाँकी रहेको सात हजार हेक्टर मात्र अहिले सुस्तावासीले भोगचलन गर्दै आएका छन् ।

२०६२ देखि २०६४ साल भित्रमा भारतले सुस्ता क्षेत्रमा अतिक्रमण गरेको सुस्तावासीको भनाई छ । विवादित भनिएको १९ हजार ४८० हेक्टर र भारतले अतिक्रमण गरेको भूमिसमेत फिर्ता ल्याउनुपर्ने भन्दै त्यो जमिन २०६० सम्म आफुहरुले जोतभोग गर्दै आएको सुस्तावासीको जिकिर छ ।०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *