भारतकाे बलमिच्याईँ, नेपाली भूमि मिचेर लिपुलेकमा सडक बनाएपछि…

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक मिचेर मानसरोवर जाने सडक खोलेको विषयले सिंगो नेपाल तरंगित भएको छ । भारतको यो कदमलाई लिएर नेपालमा जनस्तरबाटै विरोध भएको छ, भने सत्ताधारी दलभित्रैबाट पनि नेपाल सरकारले भारतसँग प्रधानमन्त्रीस्तरमै कुरा गर्नु पर्ने आवाज उठेको छ ।

सरकारले औपचारिक रुपमा भारतलाई आफ्नो गल्ती सच्याउन भन्दै वक्तव्य जारी गरेको छ । यो मुद्दालाई लिएर सबै राजनीतिक दल र तीनका भ्रातृसंगठन पनि आन्दोलित भएका छन् । सामाजिक सञ्जालमा भारतविरुद्ध डढेलो नै फैलिएको छ । परराष्ट्र मन्त्रालयले शनिवार जारी गरेको विज्ञप्तिमा भारतीय पक्षबाट भएको कदमप्रति आपत्ति जनाइएको छ । दुई पक्षीय सहमति बिना एकलौटी सडक खनिएकोमा नेपाल सरकारको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

सुगौली सन्धिले काली नदी दुई देशबीचको सीमाना रहेको उल्लेख भए पनि गएको नोभेम्बरमा मात्रै भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको भूमि मिचेको थियो । यसबारे कुटनैतिक रुपमा छलफल चलिरहँदा फेरि नेपाली भूमि मिचेर सडक बनाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

नेपाली भूमि मिचेर भारत सरकारले प्रधानमन्त्री स्तरमा भएको कुटनैतिक सहमतिको समेत उल्लङ्घन गरेको छ । चीनसम्म जोड्ने सडक भारतले उद्घाटन गरेपछि नेपालमा तीव्र विरोध भइरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *