कुविण्डेका धनपतिका छोरा अग्नि शिक्षक हुँदै सभामुखसम्म (राजनीतिक जीवनयात्रा)

सेयर

काठमाडाैँ । लामो समयको प्रतीक्षापछि संघीय संसदले सभामुखमा सत्ताधारी दल नेकपाका नेता अग्नि सापकोटालाई पाएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कारको आरोप लागेर राजीनामा दिएपछि असोजदेखि रिक्त रहेको सभामुख पदमा नेता सापकोटा निर्विरोध निर्वाचित हुनु्भएको हो ।

जीवन सघंर्षका थुप्रै उतार चढापहरु पार गर्दै आइतबार संघीय संसदको सभामुख पदमा चयन हुनुभएका अग्नि सापकोटाको जन्म वि.सं २०१४ साल फागुन २४ गते भएको थियो ।

बुवा धनपति सापकोटा र आमा तिलमाया सापकोटाको कोखबाट सिन्धुपाल्चोकको कुविण्डेमा जन्मनुभएका सापकोटा सानैदेखि तीक्ष्णबुद्धि जिज्ञासु स्वभावको हुनुहुन्थ्यो । गाउँकै श्रीकृष्ण विद्याश्रमबाट औपचारिक पठनपाठन सुरु गर्नुभएका सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरी करिब १६ वर्ष शिक्षण समेत गराउनुभएको थियो ।

शिक्षण पेसामा रहँदै राजनीतिमा सक्रिय सापकोटाले विभिन्न शैक्षिक तथा राजनीतिक मुद्धाहरुमा आफ्नो आवाज उठाउदैँ २०३६ सालको जनमत संग्रहपछि शिक्षक संघर्ष समितिको जिल्ला उपाध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्षसम्म समेत बन्नुभएको थियो । विद्यार्थी कालदेखि नै राजनीतिक जीवनको शुरुवात गर्नुभएका सापकोटाले शिक्षकको रुपमा विद्यार्थीहरुलाई शिक्षादीक्षा दिने र पञ्चायती राजका विरुद्ध राजनीतिक चेतना दिने राजनीतिक गुरुका रुपमा समेत रहनुभएको थियो । शिक्षण पेशामै रहेर पटकपटक गिरफ्तारीमा पर्नुभएका सापकोटाले लामोसमयसम्म हिरासत र जेल जीवन भोग्नुभएको छ ।

२०४८ सालदेखि शिक्षण पेशा त्यागेर पूर्णकालीन राजनीतिमा लाग्नुभएका सापकोटा संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित हुनुभएको थियो । चुनाबी पराजयपछि पनि राजनीतिबाट बिचलित नभइ राजनीतिक चेतना अभिबृद्धिमा लाग्नुभएका सापकोटा २०५१ सालमा तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय सदस्य हुनुभएको थियो । १० वर्षे शसस्त्र माओवादी युद्धमा अग्रपङ्तिमा रहेर माओवादीको मोर्चा सम्हाल्नु भएका सापकाटा पछि माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि पनि निरन्तर रुपमा पार्टीको जिम्मेवारीमा रहेर काम गर्नुभयो ।

सापकोटा २०६९ मा तत्कालीन एकीकृत नेकपा (माओवादी)को हेटौंडा महाधिवेशनबाट पोलिटव्यूरो सदस्य र विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्य हुँदै पार्टी केन्द्रीय कार्यालय सदस्य समत बन्नुभएको थियो । २०६० सालमा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्यसमेत रहनुभएका सापकोटालाई शसस्त्र युद्धमा तीन वटा गोली लागेको थियो ।

साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट २०६४ र २०७० सालमा दुई पटक नै संविधान सभा सदस्यमा भारी मतान्तरले विजयी सापकोटा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । त्यस्तै २०६८ बैशाखमा सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका सापकोटा २०७२ कार्तिकमा वन तथा भू–संरक्षणमन्त्री समेत बनिसक्नुभएको छ ।

हाल सापकोटा नेकपाको स्थायी समिति सदस्य हुनुहुन्छ । सापकोटाको नेतृत्व क्षमता र कार्यकुशलताको पार्टीका सहयोद्धा मात्र होइन अन्यले समेत मुक्त कण्ठले प्रशंसा गर्ने गरेका छन् । लामो समय राजनीतिक उतारचढाव खेपेका सापकोटालाई संसदले आईतबार निर्विरोध सभामुखमा चयन गरेको हो ।

Facebook Comments
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =